डिजिटल रोजगारीको अवसर
आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस। आजको दिनलाई विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्साहको दिनकोरूपमा मनाइन्छ । यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरुमा आधिकारिक रुपमा सार्वजनिक बिदा हुन्छ भने कतिपय राष्ट्रहरुमा सामान्यरूपमा मनाईन्छ ।
इतिहासमा हेर्दा मजदुरहरुले दिनको १६ देखि १७ घण्टा सम्म काम गर्न बध्य हुनुपर्थ्यो । सन् १८१० मा ब्रिटेनको सोसलिस्ट सङ्गठन ‘न्यु लेरनार्क‘ ले रबर्ट ओवेनको नेतृत्वमा अधिकतम १० घण्टा कामको नारा अघि सारेको थियो । आन्दोलनको केही वर्षपछि मात्रै ८ घन्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम भन्ने अभियान सुरू भएको हो ।
कोरोना भाइरस (कोभिड १९)को महामारीले विश्व अर्थतन्त्र अस्तव्यस्त बनाइदिएको छ । संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले कोरोना भाइरसको महामारीले विश्वका झन्डै ५० प्रतिशत कामदारको रोजीरोटी खोसेको नयाँ तथ्य सार्वजनिक गरेको छ । महामारीका कारण अधिकांश मुलुक पूर्ण एवं आंशिक लकडाउनमा भएकाले विश्वभर दुई अर्ब ७० करोड मजदुर प्रभावित बनेका छन् ।
आइएलओका अनुसार विश्वभरका तीन अर्ब ३० करोड जनशक्तिमध्ये दुई अर्ब मजदुर अनौपचारिक क्षेत्रमा काम गर्छन् । उनीहरूमध्ये एक अर्ब ६० करोडको जीविका कोरोनाले खोसेर भोकभोकै बस्नुपर्ने अवस्थामा पुर्याएको छ ।
सफ्ट ब्यांकको लगानी रहेको ओयो होटेल्स (ओयो रुम्स) ले ३ हजार चिनिया श्रमिकहरु कटौती गरेको छ । ब्रिटिश एयरवेयजले आफ्ना ४२ हजार कामदारहरु मध्ये १२ हजार कामदारहरु कटौती गरेको छ । यही कोरोनाको कारण इजरायलमा १० लाख बोरोजगारी थपियो भन्ने कुरा पनि समाचारमा आएको छ । उता आफूलाई सर्वशक्तिमान राष्ट्र भन्दै आएको अमेरिकामा समेत बेरोजगारको फारम बढ्नेहरूको संख्या लाखौँ पुगेको छ ।
नेपालमा पनि केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्क अनुसार १५ वर्ष र त्यो भन्दा धेरै उमेर समूहका २ करोड ७ लाख ४४ हजार जनसंख्यामध्ये ७० लाख ८६ हजार व्यक्ति रोजगारीको क्षेत्रमा छन् । बेरोजगारको संख्या ९ लाख ८ हजार रहेको विभागले जनाएको छ । तथ्याङ्क अनुसार सबैभन्दा बढी पुरुष ५ लाख ११ हजार र ३ लाख ९७ हजार महिला बेरोजगार छन् । श्रम शक्ति भन्दा बाहिरको जनसंख्या १ करोड २७ लाख ५० हजार रहेकोमा पुरुष ४२ लाख ५० हजार र महिला ८५ लाख रहेका छन् । रोजगारीमा रहेका जनसंख्यामध्ये ६९ प्रतिशत शहरमा र ३१ प्रतिशत ग्रामीण क्षेत्रमा छन् । बिगतको वर्षहरुमा नेपालबाट बैदेशिक रोजगारीको सिलसिलामा दैनिक जसो करिब १५ सयको संख्यामा युवाशक्ति कामको खोजीमा बिदेशिन बाध्य थिए ।
पछिल्लो समय कोरोनाको कहरसँगै नेपालमा पनि डिजिटल माध्यमको प्रयोग बढ्न थालेका छन्। इन्टरनेटको सहयोग मार्फत थोरै मात्रमा अनलाइनका कक्षा, अनलाइन मार्फत अर्डर, अनलाइन मिटिंङ्, वेबिनार (इन्टरनेट मार्फत गरिने सेमिनार) गर्दै अति आवश्यक कुरालाइ प्राथमिकता दिने प्रणालीको विकास हुँदै गएको छ ।
डिजिटल प्लेटफर्म मार्फत विभिन्न वेबसाइट, मोबाइल फोन एप्लिकेसन आदिले ठाउँ पाउदै गएको छ । प्रबिधिसँग जोडिएका प्राय सबै बस्तुहरुलाई अनलाइन मार्फत अगाडि लैजाने कार्यक्रमहरु अघि बढेको छ । स्कुल, कलेज अनि शैक्षिक संस्थाहरुले डिजिटल प्लेटफर्म उपयोग नगरे अर्को विकल्प नभएको अवस्था छ ।

प्रबिधिको प्रयोगले हरेक कुरालाई सहज बनाउछ । बिकसित देशहरुमा धेरै वर्ष अगाडिदेखि प्रयोगमा आएको प्रबिधिले डिजिटल प्लेटफर्म मार्फत बिकासको गतिलाई अगाडि बढाईरहेको छन् । उबरले विश्वका ९ सय सहरहरुमा आफ्नो सेवा दिदै आएको छ । पूर्णरुपमा अनलाइन प्लेटफर्मको विकास मात्र गरेको तर सबै सवारीसाधन अरुकै जिम्मामा दिएर पनि राम्रोसंग ट्याक्सी सेवालाई अनलाइन मार्फत संचालन गरेको छ ।
रोजगारीको कुरालाई यसै सन्दर्भसंग जोड्ने हो भने, डिजिटल रोजगारीका अहिलेसम्म आएका वेबमा आधारित प्लेटफर्मले जागिर लगाई दिने, बायो डेटा आदि बनाउने काम धेरै पहिलेदेखि गरेको पाइएको छ ।
रोजगारीलाइ नयाँ रुपबाट परिमार्जन गर्दै लैजाने हो भने अब ‘रिमोट’ माध्यम वा भनौ अनलाइन मार्फत क्लास लिने, पढाउने, सिकाउने, केहि परामर्श दिने, पढाईका कोर्षहरुलाइ बेच्ने आदि विभिन्न कुराहरु अगाडि बढेर जानेछन । हिजोको दिनमा घरमै बसेर ‘होम ट्युसन’ पढाउने शिक्षकहरुले अनलाइन प्रबिधि मार्फत शिक्षालाइ परिमार्जन गर्दै लैजान सक्ने वातारण हुनेछ ।

सिपमुलक तालिमलाई पनि यसैसँग अनलाइनमार्फत अघि बढाउन सकिन्छ । फरक तरिकाबाट पुरानो प्रविधिलाई परिमार्जन गर्दै लाग्ने र संगै इन्टरनेटको पहुचलाई पनि सजिलो बनाउदै लैजाने हो भने केहि सिपहरुलाइ संचालन गर्न सकिन्छ । इन्टरनेटको पहुँच नभएको ठाउँमा इन्टरनेट पुर्याउने अनि इन्टरनेट मार्फत के-के गर्न सकिन्छ भन्ने पूर्वाधार पहिला नै विकास गर्नु पर्दछ ।
बैदेशिक रोजगारीबाट फर्केर आउने दक्ष जनशक्तिलाई उचित तालिम, परामर्श तथा सहकार्य गराई त्यस्तो सिप तथा ज्ञानलाई उचित ठाउँमा सहि प्रयोग गर्न सकेमा देशमै केहि रोजगारी तथा बिकासमा केहि योगदान दिन सक्नेछन ।
हात-हातमा स्मार्ट फोन अनि विभिन्न एप्स, द्रुतगतिमा चल्ने इन्टरनेटको पहुँच भएको अवस्थालाई फरक तरिकाले मिलाएर लैजाने हो भने अब घर-घरमा घरेलु उद्योग, विभिन्न घरेलु उत्पादन साथै निर्यातमा देशले कोल्टे फेर्न सक्ने छ । सही तरिकाले स्मार्टफोनको प्रयोग गर्ने र डिजिटल संसारमा छिर्न सकेमा गाउँ-गाउँमा भएको उत्पादनलाइ बजारीकरण साथै बिश्व बजारीकरण गर्न सहज बनाउछ ।
विभिन्न अनलाइन मार्फत सामान बेच्ने एमाजोनले पनि कुनै न कुनै ठाउँबाट आफ्नो बजारको परिपूर्ति गरिरहेको छ । नेपालकै हकमा हेर्ने हो भने भाटभटेनी, दराज, सस्तो डिल वा भनौं अन्य जुनै पनि डिजिटल प्लात्फर्मलाई उत्पादन त चाहिएको नै हुन्छ ।
रोजगारीको अवस्था धरासयी भइरहेको समाजमा विकल्प भनेको दैनिक उपभोग्य सामानको उत्पादन, बजार अनि प्रवर्द्धन हो । बिगतका दिनमा परिवेश बदलिएला, समय फेरिएला भन्ने आशा त गर्नै पर्छ तर त्यसलाई प्रबिधिमार्फत कसरी अघि बढाएर लैजान सकिन्छ भन्ने कुरामा ध्यान दिनु पर्दछ ।
(भारतको हैदराबादबाट सुचना प्रबिधिमा स्नातक गरेका उप्रेती बिगत १७ वर्षदेखि सूचना प्रबिधिको क्षेत्रमा कार्यरत छन् ।)