७८ थरि पेशाका लागि डिजिटल ‘प्लेटफर्म’

Digital Platform Dec 7, 2018

काठमाडौं- बेरोजगारी समस्याले अल्मलिरहेका जनशक्तिहरुलाई सीप र अनुभवको उचित प्रयोगमा गरेर श्रीयोग डटकमले रोजगारीको अवसर जुटाइदिएको छ।

प्रकाश इन्फोशिसमार्फत २०६४ सालदेखि सूचना प्रविधि सम्वन्धी विभिन्‍न सेवा प्रदान गर्दै श्रीयोगले ७८ पेशाको अवसर जुटाइ दिएको हो।

अनलाइनमा पेशासँग सम्बन्धित व्यक्तिहरुको नाम, सम्पर्क नम्बर तथा ठेगाना, समूह अनुसार राखेर पार्टटाईम काम गर्ने मौका जुटाइ दिएको श्रीयोगका संस्थापक प्रकाश उप्रेतीले बताए। उनले भने, ‘बेरोजगारी बढिरहेको छ, साथै अवसर पनि बढिरहेको छ, सीप भएर पनि मौका नपाउँदा धेरै व्यक्तिहरू बेरोजगार भएर विदेश पलायन हुनु परेको अवस्था छ। यससँगै विभिन्न समय, चाडपर्व, अनि घर-अफिस, फ्याक्ट्री अथवा कुनै ठाउँमा कोही सीपालु मान्छे चाहिएको समयमा तुरुन्त पाउन सजिलो होस् भन्ने उद्देश्यले यस्तो अनलाइनको परिकल्पना गरेको हुँ।’

उनले जन्मेको बच्चादेखि लिएर ९९ वर्षको बृद्धले समेत श्रीयोग डट कमबाट सुबिधा लिन सक्ने बताए। उनका अनुसार बच्चाका लागि ‘हामी सञ्जु दिदी (काल्पनिक नाम) लाई बच्चा हेर्ने काम दिन सक्छौँ भने ९९ बर्षको बृद्घको लागि केयर टेकर दिन सकिनेछ।’

यसका साथै उनले वेबसाइट, मोबाइल एप्स, टोलफ्री नम्बर, एसएमएसका मध्यमबाट प्रबिधिको प्रयोग गरी सीप र रोजगारी लिन सकिने बताए। उनका अनुसार काम गर्ने सीप भएका , सीपको तालिम लिएका, कामको खोजीमा नेपालमै केही गर्ने कि विदेश जाने कि कि के गर्ने भनी अलमल्ल परेका व्यक्तिहरु साथै विदेशमा बस्ने लाखौँ व्यक्तिहरुलाई सीप अनुसार बिभाजन गरेर आम मनिसको दैनिक जन जीवनमा भैपरी आउने कामको लागि काम खोजिदिने अवसर यो डिजिटल प्लेटफर्मले प्रदान गर्ने हो।

‘सानो सानो समस्याले ठूलो समस्या समाधान गर्छ भन्ने सबै लाई थाहा छ, त्यस अनुरुप हामी नेपाल मा भएका ५० मुख्य सहरहरुमा १०० समूहमा १०० व्यक्तिहरुको विवरण राखी पाँच लाख व्यक्तिहरु लाई पार्ट टाइम रोजगारीको अवसर दिने योजनामा छौँ,’ उनले भने। सीप भएका तथा काम गर्न चाहने व्यक्तिहरुको सीपको पहिचान गरी उनीहरुलाई सही ठाँउमा पुर्‍याई कामको अवसर प्रदान गरी देशमा बढ्दै गरेको बेरोजगारीको समस्यालाई समाधान गर्ने आफ्नो योजना रहेको उनले बताए।

Tags